कर्णाली करिडोरमा पहिरो खस्दा यातायात ठप्प
हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप नजिकै छारेभिरमा पहिरोसँगै ठूला ढुङ्गा खस्दा कर्णाली करिडोर अवरुद्ध भएको छ। करिब १०० मिटर सडक अवरुद्ध भएपछि करिडोरमा सवारी आवागमन ठप्प भएको हो।
पहिरोका कारण यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। स्वास्थ्य शिविरमा सहभागी हुन सिमकोटतर्फ आएका २७ जनाभन्दा बढी नागरिकसमेत अलपत्र परेका छन्।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार ठूला ढुङ्गा हटाउनुपर्ने भएकाले आइतबार बिहानदेखि सडक खुलाउने तयारी गरिएको छ। सम्भवत: सोमबार दिउँसोसम्म करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।