अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानमार्फत दिल्ली गएका हुन्।
भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका साथै विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल हुने बताइएको छ। वाग्लेले बिहीबार साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
शुक्रबार उनले पूर्वभारतीय विदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनेछन्। सोही दिन भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।
यस्तै, शुक्रबार र शनिबार वाग्लेले भारतीय उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुका साथै कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गर्ने कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। शनिबार दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थशास्त्रसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी भएपछि उनी स्वदेश फर्कने कार्यक्रम छ।
वाग्लेसँग अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू भ्रमण टोलीमा सहभागी छन्।