फ्लाई दुबईको पोखरा उडानलाई लक्षित गर्दै होटल–रेष्टुराँमा छुट
आगामी बुधबारदेखि सुरु हुने दुबई–पोखरा–दुबई सीधा उडानलाई लक्षित गर्दै पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन्।
फ्लाई दुबईबाट पोखरा आउने यात्रु तथा पर्यटकलाई पहिलो तीन महिनासम्म होटलमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको होटल सङ्घ पोखराले जनाएको छ। हालसम्म करिब ५० होटल छुट योजनामा सहभागी भएका छन्।
पहिलो उडानबाट बुधबार साँझ पोखरा आउने यात्रुका लागि एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गर्ने व्यवस्था गरिएको छ।
यस्तै, रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले फ्लाई दुबईको बोर्डिङ पास लिएर आउने यात्रुलाई आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ।
पर्यटन व्यवसायीले फ्लाई दुबईको पोखरा–दुबई उडानलाई नियमित र दिगो बनाउन एकीकृत छुट प्याकेज तथा प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाउने तयारी गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई उडानका लागि अनुमति दिएको थियो। तालिकाअनुसार फ्लाई दुबईको जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुने यो उडानबाट पोखरा दुबई हुँदै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडिने जनाइएको छ। सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरेको जनाएको छ।