भारी वर्षाको जोखिमपछि मेची राजमार्ग र करिडोरमा राति सवारी चलाउन रोक
भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै मेची राजमार्ग र मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक)मा आजदेखि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै असोज ८ गते बेलुका ७ बजेदेखि असोज ११ गते बिहान ५ बजेसम्म दुवै सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने जनाएको हो।
जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिनमा असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेको उल्लेख भएपछि सडक सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए।
उनका अनुसार मेची राजमार्ग र मेची करिडोर हाल पनि जोखिमपूर्ण तथा जीर्ण अवस्थामा सञ्चालनमा छन्। भारी वर्षाका कारण सडकमा थप जोखिम उत्पन्न हुनसक्ने भएकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।
प्रशासनले रातको समयमा दुवै राजमार्गसँगै अन्य भित्री सडकमा समेत सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। साथै, तोकिएको समय र व्यवस्थाको पालना गर्न अनुरोध गरिएको छ।
अत्यावश्यक सेवाका लागि भने नजिकैको सुरक्षा निकायसँग समन्वय गरी सवारी सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ।
मेची राजमार्गले झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्मका पूर्वी पहाडी जिल्लालाई जोड्छ। त्यस्तै, मेची करिडोर झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घासम्म जोड्ने निर्माणाधीन सडक हो। हाल उक्त सडकको इलाम खण्ड निर्माणाधीन अवस्थामा रहेको छ।