निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति र नियमनमा जोड दिनुपर्छ : सभामुख अर्याल
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले स्पष्ट नीति निर्माण, संरक्षण र प्रभावकारी नियमन गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी उद्घाटन गर्दै सभामुख अर्यालले लामो समयदेखि निजी क्षेत्रले व्यावसायिक जोखिम वहन गर्दै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।
उनले नेपालका करिब ८० प्रतिशत घरधुरीमा रेमिट्यान्स भित्रिने र तीव्र सहरीकरण भइरहेकाले नयाँ विकास तथा निर्माणका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गरे। उनका अनुसार आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन रियल इस्टेट क्षेत्रको भूमिका महत्वपूर्ण भएकाले राज्यले यस क्षेत्रलाई आवश्यक प्रोत्साहन दिनुपर्छ।
व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको ‘हदबन्दी’ सम्बन्धी समस्या समाधानका लागि सरकार गम्भीर रहेको सभामुख अर्यालले बताए। उनले उक्त समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे।
नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न पेशालाई मर्यादित, सुरक्षित र सम्मानित बनाउनुपर्नेमा समेत उनले जोड दिए। हालैको बाढीबाट ठूलो भौतिक क्षति भएको उल्लेख गर्दै उनले विपद्पछिको पुनर्निर्माण, दिगो संरचना निर्माण र आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री र प्रविधिका स्टल राखिएका छन्।