त्रिभुवन विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका सुर्तीजन्य पदार्थ बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएको ठूलो परिमाणको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।
विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक्षा जाँच गर्ने क्रममा शङ्का लागेपछि थप अनुसन्धान गर्दा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार शिखर, सूर्य, क्याप्टेन, पाइलोट र खुकुरी ब्रान्डका गरी ७२ बन्डल अर्थात् ७२० प्याकेट चुरोट बरामद गरिएको हो।
त्यसैगरी जित, सुपर पावर, भोला, मेघाश्री र करेन्ट ब्रान्डका ६९ पोका सुर्तीजन्य पदार्थ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका चुरोट तथा सुर्तीजन्य पदार्थ आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता सिलवालले विमानस्थलको सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउँदै अवैध वस्तुको ओसारपसार तथा निकासी नियन्त्रणका लागि नियमित तथा सघन सुरक्षा जाँचलाई निरन्तरता दिइने बताएका छन्।