कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। स्थानीय तहमा पार्टीको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा नेतृत्व चयन प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सम्पन्न भएको समितिले जनाएको छ।
बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले रसुवामा केही दिनपछि अधिवेशन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्।
जसअनुसार एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान रहेको छ।
पालिका अधिवेशनपछि कांग्रेसको स्थानीय तहको सांगठनिक संरचना निर्माण प्रक्रिया थप अघि बढ्नेछ।