सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
काठमाडौं र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३ स्थित सडकमा बा.५ ख ३६७१ नम्बरको बसले बा.५३ प २४८५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मंगलबार बिहान दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक बुढानीलकण्ठ नगरपालिका–१३ का २२ वर्षीय समिर श्रेष्ठको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटरमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी पाँचथरको फिदिम नगरपालिका–१२ मिलन चोकस्थित सडकमा मे.१ त ५९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा ट्याक्टरका सहचालक हिलिहाङ गाउँपालिका–११ अमरपुरका १८ वर्षीय पवन मोतेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरमा सवार अर्का एक जना घाइते भएका छन्। उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।