भोटेकोशी बाढीमा ज्यान गुमाउनेमध्ये १ हजार ४३६ शव फेला
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार ४३६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट ती शव फेला परेको जनाएको हो।
प्रहरीका अनुसार रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन भइरहेको प्रहरीले जनाएको छ। हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डीएनए नमूना संकलन गरिएको छ।
प्रहरीका अनुसार पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। बाढीमा बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।