कर्णाली करिडोरमा पहिरोले सडक अवरुद्ध, ब्लास्टिङ गरेर ढुंगा हटाइने
कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपनजिकै छारेभीरमा पहिरोसँगै खसेका ठूला ढुंगा हटाउन समस्या भएको छ।
दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला ढुंगा थुप्रिएका छन्। पहिरो खस्ने क्रम नरोकिएकाले सामान्य स्काभेटरबाट ढुंगा हटाउन नसकिने भएपछि ड्रिल मेसिन प्रयोग गरी ब्लास्टिङ गरेर हटाउने तयारी भइरहेको हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ।
आयोजना प्रमुख बेलबहादुर नेपालीका अनुसार मौसम र प्राविधिक अवस्था अनुकूल भए सडक छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। अवस्था अनुकूल नभए सडक खुलाउन थप एक साता लाग्न सक्ने उनले बताए।
सडक अवरुद्ध भएपछि यात्रुहरू जोखिम मोलेर भीरतर्फ डोरी र भर्याङको सहायताले वारपार गरिरहेका छन्। सडक सञ्चालनमा नआउँदा कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध हुँदा सिमकोट हुँदै सुर्खेत–नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट र कैलाश मानसरोवर जाने यात्रुसमेत प्रभावित भएका छन्।
आयोजनाले सडक खुलाउन प्राविधिक टोली तथा आवश्यक उपकरण परिचालन गरिरहेको जनाएको छ। साथै, जोखिमपूर्ण अवस्थामा भीरबाट आवतजावत नगर्न यात्रुलाई आग्रह गरिएको छ।