जनमत पार्टीको अध्यक्षमा पुनः निर्विरोध हुँदै डा. सीके राउत
जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्विरोध हुने भएका छन्। पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी पुनः अध्यक्ष हुने निश्चित भएको हो।
असोज ९ गतेदेखि पर्साको वीरगञ्जमा सुरु हुने दोस्रो महाधिवेशनका लागि असोज १ गते उम्मेदवारी दर्ता गरिएको थियो। पार्टीका निवर्तमान महासचिव चन्दन सिंहका अनुसार विभिन्न पदमा १०३ जनाले उम्मेदवारी दिँदा अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको छ।
अध्यक्षसहित अन्य पदाधिकारीको प्रक्रियागत आधिकारिक घोषणा भने असोज १० गते गरिने सिंहले बताए। अध्यक्षबाहेक अन्य पदमा भने प्रतिस्पर्धा देखिएको छ। उम्मेदवारी फिर्ता लिने समय आइतबार साँझ ५ बजेसम्म तोकिएको छ। हालसम्म कसैले उम्मेदवारी फिर्ता नलिएको र विभिन्न पदमा सहमति कायम गर्ने प्रयास भइरहेको सिंहले जानकारी दिए।
सात जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ। महासचिवका लागि तीन जना, उपमहासचिवका लागि दुई जना र सात जना सचिवका लागि १० जनाले उम्मेदवारी दिएका छन्। कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाको उम्मेदवारी परेको छ।
एकभन्दा बढी उम्मेदवारी परेको पदमा चुनाव हुने व्यवस्था भए पनि त्यसअघि सहमतिको प्रयास भइरहेको सिंहले बताए। उनका अनुसार सहमति हुन नसके पदाधिकारी चयनको जिम्मेवारी अध्यक्षलाई दिने विकल्पमा पनि छलफल हुन सक्नेछ। त्यसबाट पनि टुंगो नलागे चुनावमा जाने विकल्प खुला रहनेछ।
उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अंसारी, संजयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठाले उम्मेदवारी दिएका छन्।
महासचिवमा चन्दन सिंह, ममता झा र संजयकुमार यादवबीच प्रतिस्पर्धा छ। उपमहासचिवमा निर्मल कुमार मण्डल र ललितचन्द्र मल्लिकले उम्मेदवारी दिएका छन्।
त्यस्तै, सचिव पदका लागि सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अञ्जनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहले उम्मेदवारी दिएका छन्। जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० गते पर्साको वीरगञ्जमा आयोजना हुँदैछ।