माथिल्लो त्रिशूली–१ को सुरुङमा ६ शव फेला
रसुवामा रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा खोज तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ।
नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो। ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी शवहरू सुरुङबाट बाहिर निकालिएको सेनाले जनाएको छ।
सुरुङभित्र हिलोले छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति पनि देखिएकाले सो क्षेत्रमा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र पसेपछि आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए।