अर्जुन दोङ मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै परिवार सडकमा
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका परिवार तथा समर्थकहरू सडकमा उत्रिएका छन्।
सोमबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको उपचारका क्रममा गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ। उनको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो।
दोङको मृत्यु भएपछि मंगलबार उनकी श्रीमती, छोरासहित परिवारका सदस्य तथा समर्थकहरू कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनकारीहरूले दोङलाई जबर्जस्ती मर्न बाध्य पारिएको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। उनीहरूले घटनामा संलग्न दोषीमाथि कारबाही, पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन्।
परिवारले घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले सञ्चारमाध्यम तथा पत्रकारहरूलाई घटनाबारे सत्यतथ्य जानकारी सार्वजनिक गर्न सहयोग गरिदिनसमेत आग्रह गरेका थिए।
सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालक दोङको उपचारका क्रममा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।