पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, मालवाहक सवारीसाधन रोकिए
अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने तथा भित्रिने यातायात प्रभावित भएको छ।
यस्तै, त्रिभुवन राजपथमा मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। सडकको अवस्था र वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
राजमार्गमा आवागमन प्रभावित भएपछि विभिन्न स्थानबाट आएका मालवाहक ट्रकहरू बल्खु, कलंकी र नागढुंगा क्षेत्रमा सडकमै रोकिएका छन्।
लगातार वर्षा भइरहेकाले सडकमा पहिरो खस्ने तथा यातायात थप प्रभावित हुनसक्ने जोखिम कायमै छ। यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।