विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले बाँकेका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१ का २३ वर्षीय प्रशान्त जयसवाल रहेका छन्।
साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालमार्फत विदेशी महिलासँग चिनजान भई साथी बनेपछि उनीहरूबीच प्रेम सम्बन्ध कायम भएको थियो। सोही क्रममा खिचिएका तस्बिरहरू जयसवालले महिलाका आफन्त तथा परिवारजनको सामाजिक सञ्जालमा पठाएर चरित्र हत्या गरेको आरोप छ।
घटनाबारे ब्युरोले गरेको प्राविधिक विश्लेषण तथा अनुसन्धानका आधारमा जयसवाललाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा २०८३ भदौ ३० गते पक्राउ गरिएको हो।
पक्राउ परेका जयसवालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ।