संघीय संसदका चार समितिको बैठक आज बस्दै
संघीय संसदअन्तर्गतका विभिन्न चार समितिको बैठक आज बस्दैछ।
आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।
अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल तथा संशोधन प्रस्ताव दर्ता गराउने सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान सवा ११ बजे बस्नेछ। बैठकमा स्वदेशी तथा विदेशी लगानीको अवस्था, जलवायु परिवर्तनको असर, लगानी सम्मेलनको व्यवस्थापन तथा लगानीको वातावरण सुधारका लागि आवश्यक नीतिगत र कानुनी सुधारबारे छलफल हुनेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि साढे ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा पुस्तकालय नीतिको मस्यौदाका विषयमा विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।