बैतडीमा पहिरोले घर पुरियो, लामुनी गाउँका १० परिवार जोखिममा
बैतडीको पुर्चौंडी नगरपालिका–८ लामुनीमा पहिरोले एक घर पूर्ण रूपमा पुरिएको छ। सोमबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोले गैरगाउँका गणेशदत्त जोशीको घर पुरिएको हो।
पहिरो खस्दा घरभित्र रहेका परिवारका सदस्य आवाज सुनेपछि बाहिर निस्किएकाले सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पहिरोले घर पूर्ण रूपमा नष्ट हुनुका साथै अन्नपात, लत्ताकपडालगायत सामग्री पुरिएका छन्। घरविहीन जोशी परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसेको छ।
पहिरोका कारण लामुनी गाउँका १० घरपरिवार उच्च जोखिममा रहेकाले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको प्रहरीले जनाएको छ।