भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भारीदेखि अति भारी वर्षाको सम्भावनासँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघीय अस्पताललाई सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा तत्काल प्रतिकार्यका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ।
सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ। साथै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राख्न भनिएको छ।