सात वर्षपछि ३८८ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।
साविक रमदैया भवाडी गाविसका विभिन्न वडाका ती परिवारको जग्गाको नाप नक्सा २०७४ सालमै सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन।
क्षीरेश्वरनाथ नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख सुखदेव यादवले जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरेका हुन्।
नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारका अनुसार नाप नक्सा सम्पन्न भएका नगरपालिका–२ का थप २४२ परिवारलाई पनि प्रमाणपुर्जा वितरण गर्ने तयारी गरिएको छ।
नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै प्रमाणपुर्जा वितरणको काम अघि बढाइएको उनले बताए।
यसअघि भदौ २९ गते हंसपुर नगरपालिका–५ का ३६५ परिवारलाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो।