भारी वर्षाको जोखिमपछि सिन्धुपाल्चोकमा तीन दिन राति सवारी बन्द
भारीदेखि धेरै भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तीन दिनसम्म रात्रिकालीन सवारी आवागमनमा प्रतिबन्ध लगाएको छ ।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको बुलेटिन जारी गरेपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।
जिल्लाका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा गेग्रान बग्ने जोखिम उच्च रहेको आकलन गर्दै सुरक्षात्मक कदमस्वरूप सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार असोज ८ गतेदेखि असोज १० गतेसम्म प्रत्येक दिन बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभित्रका सम्पूर्ण राजमार्ग तथा सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।
नागरिकको जिउधनको सुरक्षालाई ध्यानमा राखेर निर्णय गरिएको भन्दै प्रशासनले तोकिएको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
साथै, सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को जोखिमबाट बच्न सतर्कता अपनाउन र आवश्यक सुरक्षा सावधानी अवलम्बन गर्न प्रशासनले अनुरोध गरेको छ ।