मन्त्री निशा मेहता र साउदी राजदूतबीच भेटवार्ता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निख्रबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरब सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा गर्न सकिने सम्भावित सहयोगका विषयमा छलफल भएको थियो।
भेटका क्रममा राजदूत म्निख्रले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको क्षतिप्रति साउदी सरकारका तर्फबाट ऐक्यबद्धता जनाएका थिए। उनले विपद्पछि आवश्यक सहयोगका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री मेहताले नेपाल र साउदी अरबबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै यसै वर्ष मनाइँदै गरेको दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठलाई थप अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिइन्। उनले दुई देशबीचको कूटनीतिक सम्बन्धसँगै जनस्तरको सहकार्यसमेत विस्तार गर्नुपर्ने धारणा राखिन्।