राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमै रोकिए सार्वजनिक सवारीसाधन
देशका विभिन्न भागबाट संघीय राजधानी काठमाडौं जोड्ने प्रमुख राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएपछि सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन्। बिहीबारदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र बीपी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार प्रमुख राजमार्ग अवरुद्ध भएपछि विभिन्न जिल्लातर्फ जाने सार्वजनिक बसहरू काठमाडौंमै रोकिएका छन्। उनका अनुसार काठमाडौं–हेटौँडा जोड्ने फर्पिङको सडक भने सञ्चालनमा रहेकाले साना सवारीसाधन आवतजावत गरिरहेका छन्।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले बिहीबार साँझदेखि गोङ्गबुस्थित नयाँ बसपार्कमा सार्वजनिक सवारीसाधन रोकिएको जानकारी दिए।
“देशका विभिन्न भागबाट काठमाडौं जोड्ने राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँ बसपार्कमा रोकिएका छन्,” मल्लले भने।
यसैबीच, काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी करिडोरमा सवारीसाधन नरोकिन र पार्किङ नगर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा माइकिङसमेत गरिरहेको जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि भारी वर्षाका कारण राजमार्गमा पहिरो जानसक्ने भन्दै चालक तथा व्यवसायीलाई सावधानी अपनाउन आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायसँग समन्वय गरेर मात्र आवतजावत गर्न व्यवसायी तथा चालकलाई आग्रह गरेका छन्।
मौसमसम्बन्धी निकायहरूले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। लगातारको वर्षाका कारण राजमार्ग तथा नदी आसपासका क्षेत्रमा थप जोखिम हुनसक्ने भएकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।