बाढी प्रभावित क्षेत्रमा १२ झोलुङ्गे पुलको मर्मत सुरु
सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङका विभिन्न स्थानमा रहेका पुलको मर्मत कार्य अघि बढाइएको हो।
मर्मत सुरु भएका पुलमा कालिकास्थान, मालिङ्गा, मझुवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतलबजार–क्युरेनीटार, बेल्खु–भुतिया तथा नुवाकोट–धादिङ जोड्ने केउरेनी गहते, पिमलटार–जागाराम, कोतपु–कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल छन्। गोरखा र धादिङ जोड्ने बादरे पुलको पनि मर्मत सुरु भएको छ।
यी पुल असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, बाढीबाट प्रभावित थप आठ झोलुङ्गे पुलको मर्मतका लागि प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाइएको छ। आवश्यक ‘डेक’लगायत सामग्री खरिद गरी पहिलो चरणका सामग्री कार्यस्थलमा पुर्याइसकिएको छ भने दोस्रो चरणको स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
यसैगरी पूर्ण रूपमा क्षतिग्रस्त ३३ वटा झोलुङ्गे पुल पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान गरिएको छ। पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायत सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको हो।