शेखर कोइराला र पूर्णबहादुर खड्का दुवै महाधिवेशनमा सहभागी नहुने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने अडानमा रहेका छन्।
कांग्रेस नेता केदार कार्की तथा सभापति गगन थापानिकट नेताहरूका अनुसार दुवै नेता कुनै पनि पक्षको महाधिवेशनमा सहभागी नभई पार्टीभित्रको विवाद समाधानका लागि बीचमा बसेर भूमिका खेल्ने अवस्थामा पुगेका हुन्।
कोइरालाले आफू कुनै पनि महाधिवेशन तथा बैठकमा सहभागी नहुने बताएका छन्। उनले आफू कांग्रेसको इमान्दार कार्यकर्ता भएको उल्लेख गर्दै दुवै पक्षबीच पार्टीलाई मिलाउने प्रयासमा रहने बताएका छन्।
यस्तै, कांग्रेसका शीर्ष नेताहरूका अनुसार खड्का पछिल्लो समय सभापति गगन थापासँग नजिकिएका छन्। तत्काल सहकार्य गरेर एउटै पक्षमा जाने अवस्था नरहे पनि उनले आफ्ना निकट नेताहरूलाई सानेपामा पठाएर आफू बीचमा बस्ने अडान लिएको बताइएको छ।
कांग्रेस महामन्त्री गुरु घिमिरेले खड्कासँग पार्टीलाई एकताबद्ध बनाउने विषयमा निरन्तर संवाद भइरहेको बताएका छन्। उनका अनुसार खड्काको धारणा कांग्रेसलाई एक बनाएर अघि बढ्ने रहेको छ।
यसैबीच, बिहीबार सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, राजीवविक्रम शाह र रामहरि खतिवडालगायतका नेताहरू सहभागी भएका छन्।