रोयल इन्फिल्डको ‘वन राइड’मा १ हजार ५ सयभन्दा बढी राइडर सहभागी
रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। देशका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए।
काठमाडौंको राइड कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएर गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट राइडरहरू कार्यक्रममा सहभागी भएका थिए।
राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ। सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका प्रेसिडेन्ट रमेश तामाङ, भाइस प्रेसिडेन्ट डा. प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरे।
चेक हस्तान्तरण कार्यक्रममा निर्देशक पौडेलले राइडिङलाई मोटरसाइकल र यात्रामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व तथा समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए। उनले आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीका अनुसार ‘वन राइड’को उद्देश्य देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर कम्युनिटीलाई एउटै प्लेटफर्ममा जोड्नु, अनुभव आदानप्रदान गर्नु र सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु हो।
रोयल इन्फिल्ड नेपालले राइडर कम्युनिटीलाई मोटरसाइकल र राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोड्दै आएको जनाएको छ। ‘प्योर मोटरसाइकलिङ’को अवधारणाअन्तर्गत आयोजना गरिएको ‘वन राइड’ले देशभरका राइडरलाई एउटै अभियानमा जोड्नुका साथै स्थानीय समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार रोयल इन्फिल्डका लागि राइडिङ केवल यात्रा नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यम हो। यही अवधारणालाई अघि बढाउँदै आगामी दिनमा राइडर कम्युनिटी तथा स्थानीय समुदायसँग सहकार्य गर्ने गतिविधिलाई निरन्तरता दिइनेछ।