रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सैनिकको भूमिकाको किम जोङ उनद्वारा प्रशंसा
उत्तर कोरियाली नेता किम जोङ उनले रुस–युक्रेन युद्धमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुसलाई गरिएको सैन्य सहयोगप्रति समर्थन जनाएका छन्।
उत्तर कोरियाको ७८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा किमले विदेशमा तैनाथ उत्तर कोरियाली सेनाका कमान्डर तथा सैनिकप्रति विशेष कृतज्ञता र सम्मान व्यक्त गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि उत्तर कोरिया रुसको प्रमुख सहयोगीका रूपमा अघि आएको छ। दक्षिण कोरियाली अधिकारीहरूका अनुसार रुस–युक्रेन युद्धमा सहभागी करिब २ हजार उत्तर कोरियाली सैनिक मारिएका छन्। यद्यपि रुस र उत्तर कोरियाले सैनिक हताहतीको विवरण सार्वजनिक गरेका छैनन्।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी क्षेप्यास्त्र आक्रमणबाट सुरक्षाका लागि दक्षिण कोरियासँग हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन्। रुस–उत्तर कोरियाबीच बढ्दो सैन्य सहकार्यले युरोपसँगै कोरियाली प्रायद्वीपको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढाएको छ।