मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबिच व्यावसायिक सम्झौता
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टअन्तर्गत काठमाडौंस्थित माया मनोर बुटिक होटल, पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टका विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
त्यस्तै, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।
उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि सुविधा प्राप्त गर्न सकिनेछ।
यसैबीच, मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने अटो लोनसमेत सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकले ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै विभिन्न बैंकिङ तथा वित्तीय सेवामा थप सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।