राष्ट्रियसभा बैठकमा विभिन्न घटनाको निष्पक्ष छानबिन माग
राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी तथा बारा र नवलपरासीमा भएका हत्याका घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
बैठकको शून्य समयमा सदस्य विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा बारम्बार आगलागीका घटना भइरहेको भन्दै त्यसको न्यायिक छानबिन गर्न माग गरे।
सदस्य पूजा चौधरीले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्न केही व्यक्तिलाई सामान्य तारेखमा छाडिएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन्।
त्यस्तै, सदस्य रुक्मिणी कोइरालाले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–३ मा शेरबहादुर विकले तीजका दिन आफ्नी श्रीमती उनीमाया विकको हत्या गरेको उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरिन्।
बैठकमा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवाका आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकामा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र औषधिको सहज आपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए। उनले बाढीका कारण अवरुद्ध सडक सञ्जाल तत्काल पुनः सञ्चालन गर्नसमेत माग गरे।