पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउनुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसाका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले बुधबार सिंहदरबारमा आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री तिमिल्सिनाले श्रमजीवी पत्रकारको हकहितको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले पत्रकारहरूले न्यूनतम पारिश्रमिकका लागि सडकमा आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखे । जोखिम मोलेर रिपोर्टिङ गर्नु प्रशंसनीय भए पनि पत्रकारले आफ्नो जीवन नै जोखिममा राखेर काम गर्न नहुने भन्दै उनले ‘सुरक्षा पहिलो’ भन्ने मान्यता अपनाउनुपर्ने बताए ।
मन्त्री तिमिल्सिनाले सार्वजनिक प्रसारण संस्थाहरूको सुधारका लागि विगतका कमजोरी निर्ममतापूर्वक सच्याउनुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार रामचन्द्र अर्याल, दिवाकर पोखरेल, शिव शिलवाललगायत पाँच जना पत्रकारलाई प्रदान गरिएको थियो ।