कारबाहीविरुद्ध राप्रपा कार्यालय घेराउ गर्ने उद्धव थापाको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूमाथि गरिएको कारबाहीविरुद्ध पार्टीको केन्द्रीय कार्यालय घेराउ गर्ने घोषणा गरेका छन्।
थापाले बुधबार बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय घेराउ गर्ने बताएका हुन्। उनले कार्यक्रममा सहभागी हुन आफ्ना सहकर्मी तथा समर्थकलाई आह्वान गरेका छन्।
बागमती प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार गठनका क्रममा पार्टी केन्द्रको निर्णयविपरीत समर्थन गरेको आरोपमा राप्रपाले थापासहित केही नेतामाथि कारबाही गरेको थियो। आफूहरूमाथि अन्यायपूर्ण र भेदभावपूर्ण व्यवहार भएको दाबी गर्दै थापाले कारबाही फिर्ता लिन माग गरेका छन्।
राप्रपाले यसअघि काठमाडौं, चितवन, दोलखा र धादिङका जिल्ला कार्यसमितिलाई पत्राचार गर्दै कारबाहीमा परेका तथा कारबाही प्रक्रियामा रहेका व्यक्तिलाई पार्टीका कुनै पनि निकायमा सहभागी नगराउन निर्देशन दिएको थियो।