भारी हिमपातपछि मनास्लु आरोही धमाधम फर्किन थाले
भारी हिमपात र निरन्तर वर्षाका कारण मौसम प्रतिकूल भएपछि मनास्लु हिमाल आरोहणमा गएका आरोहीहरू बीचबाटै फर्किन थालेका छन्।
दुई सातासम्म मौसममा सुधार नआएपछि आरोहीहरू फर्किन थालेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए। उनका अनुसार मनास्लु क्षेत्रमा निरन्तर वर्षासँगै करिब पाँच फिटसम्म हिमपात भएको छ।
स्थानीय व्यवसायीका अनुसार बेस क्याम्पमा करिब तीन फिट र क्याम्प १, २ तथा ३ क्षेत्रमा सातदेखि आठ फिटसम्म हिउँ जमेको छ। प्रतिकूल मौसमका कारण जोखिम बढेपछि केही आरोहीले आरोहण स्थगित गरी फर्किएको बताइएको छ।
सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामाका अनुसार हालसम्म करिब १० प्रतिशत आरोही फर्किसकेका छन्। मौसममा सुधार आए पनि यस याममा पुनः आरोहणका लागि फर्किने सम्भावना कम रहेको स्थानीयको भनाइ छ।
८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यस याममा करिब पाँच सय जनाले अनुमति लिएका छन्। गत वर्ष ६७ देशका ४१ समूहका ३६६ पुरुष र १२७ महिला गरी ४९३ जनाले मनास्लु आरोहणको अनुमति लिएका थिए। त्यसबाट नेपाल सरकारले २२ करोड ४८ लाख १४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो।