नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ र कैलालीबाट दुई जना पक्राउ
नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ र कैलालीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मोरङमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-११ तीनमुढे बस्ने ६० वर्षीय अलकछन माझी चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको छ।
यसैगरी कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।