भारतसँग ‘स्वस्थ सम्बन्ध’ चाहन्छौँ, हसिनाको प्रत्यर्पणसहितका मुद्दा समाधान गर्नुपर्छ : बङ्गलादेश
बङ्गलादेशले भारतसँग पारस्परिक सम्मान र हितका आधारमा ‘राम्रो र स्वस्थ सम्बन्ध’ कायम गर्न चाहेको जनाएको छ। बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का सांसद तथा संसद्को विदेश मामिला समितिका अध्यक्ष जह्रत अदीब चौधरीले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण, सीमा विवाद र पानी बाँडफाँटलगायतका विषय समाधान गर्नुपर्ने बताएका छन्।
एएनआईसँग कुरा गर्दै चौधरीले बीएनपी सरकारले ‘बङ्गलादेश पहिलो’ नीति अपनाएको र भारतसँगको सम्बन्धलाई दुवै देशका लागि लाभदायक ‘विन–विन’ रणनीतिअनुसार अघि बढाउन चाहेको बताए।
उनका अनुसार भारत बङ्गलादेशको सबैभन्दा ठूलो छिमेकी भएकाले वैमनस्य नभई मर्यादा, सम्मान र पारस्परिक हितमा आधारित सम्बन्ध आवश्यक छ। उनले हसिनाको प्रत्यर्पण, सीमा विवाद तथा लामो समयदेखि विचाराधीन पानीको अधिकारसम्बन्धी विषयलाई प्रमुख मुद्दाका रूपमा उल्लेख गरे।
भारतमा रहेकी पूर्वप्रधानमन्त्री हसिनाको प्रत्यर्पण प्रक्रिया तीव्र बनाउन बङ्गलादेशले भारतसँग आग्रह गर्दै आएको छ। यस विषयमा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र भारतीय उच्चायुक्त दिनेश त्रिवेदीबीच समेत भेटवार्ता भएको छ।
सन् २०२४ को विद्यार्थी आन्दोलनपछि बङ्गलादेशबाट बाहिरिएकी हसिना त्यसयता भारतमा रहँदै आएकी छन्। हसिनाको भारतमा उपस्थितिलाई लिएर ढाका र नयाँदिल्लीबीच कूटनीतिक तनाव रहँदै आएको छ। बङ्गलादेशले भने संवादमार्फत सीमा, पानी बाँडफाँट र प्रत्यर्पणलगायतका द्विपक्षीय विषय समाधान गर्नुपर्नेमा जोड दिएको छ।