समुद्री सतह बढ्दा नाइजेरियाको आयटोरो बस्ती अस्तित्वकै संकटमा
आयटोरो । दक्षिणी नाइजेरियाको तटीय बस्ती आयटोरो समुद्री सतह बढ्दै जाँदा अस्तित्वकै संकटमा परेको छ। हरेक वर्ष समुद्रतट साँघुरिँदै गएको छ भने समुद्री कटानले बस्तीका घरहरू बगाएपछि तिनका भग्नावशेष बाँकी जमिनमा छरिएका छन्।
घर गुमाएका परिवारले भित्री भूभागमा नयाँ घर बनाएर बस्ने प्रयास गरे पनि केही समयमै समुद्री कटानले पुनः बस्तीलाई प्रभावित पार्ने गरेको छ। डुङ्गाबाट मात्र पुग्न सकिने साँघुरो बालुवे भूभागमा हिँड्दै ३५ वर्षीय थोम्पसन अकिङबोयले आफूहरू मानिसका घरमाथि हिँडिरहेको जस्तो महसुस हुने बताए।
करिब १० हजार मानिसको बसोबास रहेको आयटोरो सन् १९४७ मा सामुदायिक स्वामित्वमा आधारित समाज निर्माण गर्ने कम्युनिस्ट विचारबाट प्रभावित इसाईहरूको समूहले स्थापना गरेको थियो। तर सन् २००० को दशकदेखि यहाँ तटीय क्षरण तीव्र बन्दै गएको छ। इलाजे जिल्लाका अन्य १९ समुदाय पनि यसको प्रभावमा छन्।
नगर योजना विशेषज्ञ बार्नाबास ओगिरिमा जेम्सको अध्ययनअनुसार सन् १९८७ देखि २०२२ सम्म आयटोरोको तटरेखा हरेक वर्ष औसत १५ मिटर पछाडि सरेको छ। सन् २०२४ मा प्रकाशित ‘साइन्टिफिक रिपोर्ट’ को अध्ययनले पश्चिम अफ्रिकाको गिनीको खाडीमा समुद्री सतह प्रतिवर्ष करिब ३.९ मिलिमिटरले बढिरहेको र यो विश्वव्यापी औसतभन्दा १०.५ प्रतिशत बढी रहेको जनाएको थियो।
आयटोरोका परम्परागत राजा ओलुवाम्बे ओजाग्बोहुन्मीले १४ वर्षअघि खिचिएको तस्बिर देखाउँदै त्यतिबेला आफ्नो क्षेत्रमा धेरै भवन रहेको तर अहिले तीमध्ये अधिकांश समुद्रले बगाएको बताए। उनका अनुसार राजदरबारमा पहिले करिब १०० कोठा थिए भने अहिले करिब एक दर्जन मात्र बाँकी छन्।
समुद्र दरबारनजिकै पुगेपछि राजाको शयनकक्षबाट राति छाल पर्खालमा ठोक्किएको आवाजसमेत सुनिने गरेको छ। “यो हाम्रो भूमि हो । हामी कहाँ जाने ?” भन्दै उनले अवस्थाप्रति चिन्ता व्यक्त गरे।
गत अप्रिलमा आएको आँधीका कारण समुद्रको सतह बढेपछि दरबारका बासिन्दा एक सातासम्म घरभित्रै थुनिएका थिए। राजाका व्यक्तिगत सहायक तथा माछा मार्ने अकिङबोयका अनुसार सन् २०१९ मा समुद्रले उनका बुबाको घर बगाएपछि उनले जोगाउन सकेको एउटै वस्तु विश्वविद्यालयको प्रमाणपत्र थियो। केही परिवार भने तीन पटकभन्दा बढी स्थानान्तरण भइसकेका छन्।
लागोस विश्वविद्यालयका ल्यान्डस्केप आर्किटेक्चर अनुसन्धानकर्ता ओलुवासेगुन बाबातुन्डे एसानका अनुसार तीव्र सहरीकरणका कारण बाढीका मैदान, दलदल र तटीय क्षेत्रसमेत मानव बस्ती तथा औद्योगिक गतिविधिका लागि प्रयोग हुन थालेकाले समस्या थपिएको हो। उनले तटीय क्षेत्रमा कडा नियमन लागू गर्नुका साथै म्यानग्रोभ र नरिवलका रूख रोपेर प्राकृतिक अवरोध निर्माण गर्न सुझाव दिएका छन्।
समुद्री पानीको अतिक्रमणले आयटोरोको स्वास्थ्य र शिक्षा क्षेत्रसमेत प्रभावित भएको छ। बस्तीको एकमात्र स्वास्थ्य केन्द्रमा पानी पस्ने गरेको स्वास्थ्यकर्मी ओमोमी ओलुवासेनले बताए। उनका अनुसार समुद्री पानीका कारण खानेपानी प्रदूषित हुँदा टाइफाइड र झाडापखालाजस्ता पानीजन्य रोगको जोखिम बढेको छ।
विद्यालयहरू पनि समुद्री कटानका कारण पटक–पटक स्थानान्तरण गर्नुपरेको ४५ वर्षीय शिक्षक सन्डे अकिन्जोयले बताए। बारम्बार हुने स्थानान्तरण र अस्थिर वातावरणले बालबालिकामा मनोवैज्ञानिक असर परेको तथा उनीहरूको पढाइमा ध्यान केन्द्रित गर्ने क्षमता घटेको उनको भनाइ छ।
जलवायु परिवर्तनका कारण समुद्री सतह बढ्दै जाँदा आयटोरोमा घर, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनसँगै बस्तीको भविष्य नै संकटमा परेको छ। तटीय संरक्षणका प्रभावकारी उपाय र सुरक्षित पुनर्वासको व्यवस्था नहुँदा समुद्रको बढ्दो अतिक्रमणले स्थानीय समुदायमाथिको जोखिम थप गहिरिँदै गएको छ।