पूर्वी जापानमा भारी वर्षा : नौ जनाको मृत्यु, एक हजारभन्दा बढी घर डुबानमा
टोकियो । पूर्वी जापानमा परेको अभूतपूर्व भारी वर्षाका कारण नौ जनाको मृत्यु भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ । लगातारको वर्षाका कारण एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक तथा रेल सेवा प्रभावित भएका छन् ।
बिहीबार रातिदेखि सुरु भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढाउनुका साथै विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको थियो । चिबा प्रिफेक्चरमा भारी वर्षाको उच्च तहको चेतावनी जारी गरिएको थियो ।
चिबाको एक मौसम मापन केन्द्रमा २४ घण्टामा ३० सेन्टिमिटर अर्थात् करिब १२ इन्च वर्षा मापन गरिएको थियो । यो पछिल्लो ६० वर्षयता अगस्ट महिनामा भएको सबैभन्दा ठूलो वर्षा भएको जनाइएको छ । भूमि मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म चिबा सहरमा सामान्यतया पूरै अगस्ट महिनामा पर्ने औसत वर्षाभन्दा तीन गुणा बढी पानी परिसकेको थियो ।
एनएचकेका अनुसार आइतबार बिहानसम्म वर्षाका कारण नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये केही डुबानमा परेका सवारीसाधनभित्र तथा केही पानीले भरिएका सडकमा मृत अवस्थामा फेला परेका थिए ।
चिबा प्रिफेक्चरको पछिल्लो विवरणअनुसार ७० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ भने एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये करिब ६०० घरको भुइँको सतहभन्दा माथिसम्म पानी पसेको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार करिब एक हजार २०० सवारीसाधन सडकमा अलपत्र परेका छन् । अधिकारीहरूले टो तथा ज्याकको प्रयोग गरी ती सवारीसाधन हटाउने काम गरिरहेका छन् ।
जापानको मौसम विज्ञान विभागका एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमार्फत चिबामा ‘अभूतपूर्व स्तरको भारी वर्षा’ हुने चेतावनी दिएका थिए । लगातारको वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम रहेकाले प्रभावित क्षेत्रमा सतर्कता अपनाइएको छ ।
वैज्ञानिकहरूले मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले चरम मौसमी घटनालाई अझ बारम्बार, लामो समयसम्म र तीव्र बनाउँदै लगेको बताएका छन् ।