आङ सान सुकीले आइसीआरसी प्रतिनिधिसँग गरिन् भेटवार्ता
नेपिडो — म्यानमारकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गरेकी छन्। सन् २०२१ को सैन्य ‘कू’ पछि सुकी र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो।
राष्ट्रपति कार्यालयका अनुसार म्यानमारस्थित आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले सुकीसँग भेट गरेका हुन्।
सन् २०२१ मा सेनाले निर्वाचित सरकार अपदस्थ गरेपछि पक्राउ परेकी ८१ वर्षीया सुकीलाई विभिन्न आरोपमा जेल सजाय सुनाइएको थियो। पछि सैन्य सरकारले उनको बाँकी सजाय घटाएर घरमै नजरबन्दमा राखेको थियो।
अधिकारवादी समूहहरूले सुकीमाथिका आरोपलाई राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन्। राष्ट्रपति कार्यालयले भेटका केही तस्बिर सार्वजनिक गरे पनि तिनको स्वतन्त्र पुष्टि हुन सकेको छैन।