होर्मुजमा अमेरिकी नाकाबन्दी तोड्न खोजेको कार्गो जहाजमा मिसाइल प्रहार
स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबन्दी तोडेर अघि बढ्न खोजेको एमभी वेला नोभा नामक कार्गो जहाजमाथि अमेरिकी सेनाले मिसाइल प्रहार गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार अमेरिकी नौसेनाको एमएच–६० हेलिकप्टरले पटक–पटक दिइएको चेतावनी बेवास्ता गर्दै अघि बढ्न खोजेपछि जहाजलाई रोक्न आक्रमण गरिएको हो।
सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जहाजले अमेरिकी सेनाको चेतावनीलाई बेवास्ता गर्दै नाकाबन्दी क्षेत्र पार गर्ने प्रयास गरेपछि बल प्रयोग गरिएको जनाएको छ। आक्रमणपछि जहाजलाई अघि बढ्न नदिइएको अमेरिकी सेनाले बताएको छ।
इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी गत जुलाई १४ मा पुनःस्थापित गरिएपछि अमेरिकाले जबर्जस्ती जहाज रोकेको यो तेस्रो घटना भएको जनाइएको छ। सेन्टकमका अनुसार नाकाबन्दी उल्लंघन गर्दै अघि बढ्न खोज्ने तथा सो क्षेत्रमा सञ्चालनमा रहेका अन्य जहाजलाई समेत अमेरिकी सेनाले पुनःनिर्देशन गरिरहेको छ।
अमेरिकी सेनाका अनुसार यसअघि अप्रिल १३ देखि जुन १८ सम्म इरानी बन्दरगाहमा नाकाबन्दी लगाइएको थियो। उक्त अवधिमा अमेरिकी सेनाले नौवटा कार्गो जहाजलाई निष्क्रिय पार्नुका साथै १४० भन्दा बढी जहाजलाई पुनःनिर्देशन गरेको दाबी गरेको छ।
होर्मुज जलडमरूमध्य इरानको तेल तथा ग्यास निर्यातका लागि मात्रै नभई विश्वव्यापी ऊर्जा आपूर्तिका लागि समेत महत्वपूर्ण समुद्री मार्ग हो। यही कारण अमेरिकी नाकाबन्दी र जहाज आवागमनमाथिको नियन्त्रणले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तनाव थप बढाएको छ।
इरानले युद्धअघि तेल तथा ग्यास ढुवानीको प्रमुख मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्य पुनःखोल्न अमेरिकी नाकाबन्दी अन्त्य गर्नुपर्ने आफ्नो मुख्य सर्तका रूपमा अघि सारेको छ। इरानले अमेरिकी कदमलाई आफ्नो सार्वभौमिकता र व्यापारिक आवागमनमाथिको हस्तक्षेपका रूपमा लिँदै आएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने होर्मुजलाई रणनीतिक रूपमा अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै नाकाबन्दी तत्काल हटाउने संकेत दिएका छैनन्। यसले इरान र अमेरिकाबीचको सैन्य तथा कूटनीतिक तनाव अझ लम्बिन सक्ने देखिएको छ।
होर्मुजमा जहाज रोक्ने र पुनःनिर्देशन गर्ने अमेरिकी कदमले अन्तर्राष्ट्रिय समुद्री व्यापार तथा ऊर्जा आपूर्तिमा समेत चिन्ता बढाएको छ। इरानी बन्दरगाहतर्फ जाने जहाज र जलमार्ग प्रयोग गर्ने अन्य व्यावसायिक जहाजमाथि पनि थप सुरक्षा जोखिम बढ्न सक्ने अनुमान गरिएको छ।