थाइल्यान्डबाट ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
काठमाडौं — प्रहरीले थाइल्यान्डबाट ल्याइएको ११ केजी गाँजासहित तीन जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार साउन १६ गते राति क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएका दुई जनाको साथबाट ११ केजी गाँजा बरामद गरिएको हो।
ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा पन्जाबका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह र हरियाणाका २२ वर्षीय साहिल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले थाइल्यान्ड हुँदै हङकङबाट गाँजा नेपाल ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।