युक्रेनद्वारा रूसका टाढाका तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण
काठमाडौं । युक्रेनले रूस–युक्रेन सीमाबाट सयौँ किलोमिटर टाढा रहेका दुईवटा तेल प्रशोधन केन्द्रमा रातारात ड्रोन आक्रमण गरेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।
जेलेन्स्कीका अनुसार बाश्कोर्तोस्तान र यारोस्लाभ क्षेत्रमा रहेका तेल प्रशोधन केन्द्रलाई निशाना बनाइएको हो। ती क्षेत्रहरू युद्ध क्षेत्रबाट क्रमशः करिब एक हजार ३०० किलोमिटर र ७०० किलोमिटर टाढा छन्।
रूसले पनि युक्रेनका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। पछिल्लो समय दुवै पक्षले लामो दूरीका आक्रमण बढाउँदा सर्वसाधारणको हताहती बढेको छ।
रूसको रक्षा मन्त्रालयले रातभर युक्रेनका ६०५ ड्रोन खसालेको दाबी गरेको छ भने यारोस्लाभ क्षेत्रका गभर्नरले ९२ वटा ड्रोन खसाइएको बताएका छन्।
यता, रूसले खार्किभ क्षेत्रको लोझोभा रेल स्टेसन र ओडेसा क्षेत्रमा गहुँ बोकेको व्यावसायिक जहाजमा आक्रमण गरेको युक्रेनले जनाएको छ। ती घटनामा केही व्यक्तिको मृत्यु भएको बताइएको छ।
जेलेन्स्कीले रूसले युद्ध अन्त्य गरी शान्तिको बाटो रोज्नुपर्ने बताएका छन्। उनले सहयोगी राष्ट्रहरूसँग थप हवाई प्रतिरक्षा सामग्री उपलब्ध गराउन पनि आग्रह गरेका छन्। पछिल्लो तनावसँगै दुवै देशबीचको कूटनीतिक प्रयास थप कठिन बन्दै गएको छ।