लमजुङले राजेन्द्र बानियाँलाई माया दियो, अब प्रश्न छ,लमजुङका मुद्दा उनले कहाँसम्म उठाउलान् ?
वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ बिहीबार लमजुङमा थिए। उनको आगमनसँगै पत्रकारलाई भेट्ने, फोटो खिचाउने र आफ्ना ठाउँका समस्या सुनाउनेहरूको बाक्लो उपस्थिति देखियो। बेँसीसहरमा आयोजित ‘लिसन सिंहदरबार-समृद्धि यात्रा’ कार्यक्रममा लमजुङका प्रमुख राजनीतिक नेतृत्वलाई एउटै मञ्चमा राखेर बानियाँले जिल्लाको विकास, पूर्वाधार, पर्यटन, जलविद्युत् र जनसरोकारका विषयमा प्रश्न गरे। कार्यक्रम सकिएपछि भने एउटा अर्को प्रश्न पनि जन्मिएको छ, आज लमजुङमा उठाइएका यी सवाल अब बानियाँसँगै काठमाडौँसम्म पुग्छन् कि लमजुङमै सीमित हुन्छन् ?
बानियाँ गोरखामा जन्मिएका पत्रकार हुन्। लमजुङको भूगोल, राजनीतिक इतिहास र यहाँका विकासका हरेक समस्या उनी दशकौँदेखि यहीँ बसेर अध्ययन गरिरहेका पत्रकार होइनन्। तर आधारभूत प्रश्न सोध्नका लागि कुनै जिल्लाको सम्पूर्ण इतिहास जान्नु र सम्बन्धित विषयको गहिरो प्रश्न पहिचान गर्न सक्नु फरक कुरा हो। बिहीबारको कार्यक्रममा उनले लमजुङका राजनीतिक नेतृत्वलाई एउटै मञ्चमा राखेर प्रश्न गर्ने अवसर सिर्जना गरे, जसले जिल्लाका धेरै पुराना सवाललाई फेरि सार्वजनिक बहसमा ल्याएको छ।
कार्यक्रमका क्रममा लमजुङका नेताहरूलाई प्रश्न सोधिनेमात्र भएन, बानियाँलाई आफ्ना समस्या देखाउने प्रतिस्पर्धाजस्तै देखियो। कोही सडकको अवस्था देखाउन पुगे, कोही खेलमैदानको समस्या सुनाउन पुगे, कोही जलविद्युत्का कारण उठेका विवादबारे जानकारी गराउन चाहन्थे। सहजि खेलमैदानसम्म पुगेर राष्ट्रियस्तरको रंगशाला बनाउनुपर्ने विषयसमेत बानियाँ र सांसद धर्मराज केसीसामु राखियो। यसले एउटा कुरा प्रस्ट देखायो, लमजुङले आफ्नो समस्या सुनाउन राष्ट्रिय सञ्चारको पहुँच भएका व्यक्तिको खोजी गरिरहेको छ।तर पत्रकारले समस्या सुन्नु र समस्या समाधान गर्नु एउटै कुरा होइन। बानियाँ न बजेट विनियोजन गर्ने ठाउँमा छन्, न योजना कार्यान्वयन गर्ने सरकारी निकायमा। त्यसैले आज उनले सुनेका र देखेका विषयको वास्तविक अर्थ अब त्यसबेला हुनेछ, जब ती सवाल उनले आफ्नो सञ्चारमाध्यममार्फत लमजुङ बाहिर पनि उठाउनेछन्।
बानियाँले केही समयअघि लमजुङको विकास अवस्थाबारे टिप्पणी गर्दै ‘लमजुङको विकास देखेर धिक्कार लाग्यो’ भनेका थिए। तनहुँतर्फको सडक र लमजुङ प्रवेश गरेपछिको सडक अवस्थाबीच तुलना गर्दै उनले उठाएको त्यो प्रश्न अहिले पनि जिल्लामा चर्चामा छ। आज फेरि उनले लमजुङको विकासका सवाललाई प्रत्यक्ष देखे, नेताहरूसँग प्रश्न गरे र स्थानीयका कुरा सुने। अब स्वाभाविक प्रश्न उठ्छ, लमजुङबाट बाहिरिएपछि पनि त्यो प्रश्न उनको प्राथमिकतामा रहन्छ कि रहँदैन ?लमजुङमा आज उठाइएको अर्को महत्वपूर्ण विषय सहजि खेलमैदानको हो। लामो समयदेखि त्रिवेणी कप आयोजना हुँदै आएको यो मैदानलाई राष्ट्रियस्तरको रंगशालाका रूपमा विकास गर्न स्थानीय अभियन्ता तथा त्रिवेणी युवा क्लबका पूर्वअध्यक्ष एवं बेँसीसहर-७ का रास्वपा सभापति राजकुमार घिमिरेले लामो समयदेखि पहल गर्दै आएका छन्। उनले बानियाँ र सांसद धर्मराज केसीलाई मैदानमै पुर्याएर यसको अवस्था, इतिहास र आवश्यकताबारे जानकारी गराए। खेलकुदमन्त्रीसँग भेटेर विषय अघि बढाउने तयारीसमेत रहेको जानकारी गराइएको छ। अब यो विषय पनि लमजुङको एउटा स्थानीय मागमै सीमित हुन्छ कि राष्ट्रिय बहसको विषय बन्छ भन्ने कुरा आगामी दिनले देखाउनेछ।
बानियाँले सञ्चालन गरेको चर्चित ‘यक्ष प्रश्न’ कार्यक्रमदेखि नै राष्ट्रिय राजनीतिमा उनको प्रश्न गर्ने शैली परिचित छ। लमजुङका राजनीतिक नेतृत्वमध्ये पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सञ्चारमाध्यममा तुलनात्मक रूपमा बढी स्थान पाउँदै आए पनि जिल्लाका अन्य धेरै राजनीतिक पात्र र स्थानीय सवाल राष्ट्रिय बहसमा त्यति निरन्तर देखिएका छैनन्। अहिले बानियाँ राष्ट्रिय मूलधारको टेलिभिजनबाट बाहिरिएर नेपाल लिड अनलाइन र युट्युबमार्फत आफ्नो पत्रकारिता अघि बढाइरहेका छन्। त्यसैले उनको आजको लमजुङ यात्रा केवल एउटा कार्यक्रमको आयोजना मात्र नभई उनको नयाँ सञ्चार यात्राको प्रभाव र प्राथमिकता परीक्षण गर्ने अवसरका रूपमा पनि हेर्न सकिन्छ।लमजुङेहरूले उनलाई दिएको माया र सम्मान भने सामान्य कार्यक्रमको भीडभन्दा माथिको देखियो। फोटो खिचाउनेदेखि आफ्ना समस्या सुनाउनेसम्म मानिसहरूमा देखिएको उत्साहले राष्ट्रिय सञ्चारमा पहुँच भएको पत्रकारसँग जिल्लावासीको अपेक्षा कति ठूलो छ भन्ने देखायो। लमजुङले बानियाँलाई आफ्नो समस्या सुनायो, अब बानियाँले लमजुङको आवाज कति टाढासम्म पुर्याउँछन् भन्ने प्रतीक्षा जिल्लावासीको हो।
विशेषगरी विकासको सवालमा लमजुङले छिमेकी जिल्ला तनहुँ, गोरखा र मनाङसँग आफूलाई तुलना गर्दै आएको छ। बानियाँले स्वयं देखेको सडकको अवस्था, सुन्दरबजार-भोर्लेटार सडकको ढिलाइ, डुम्रे-बेसिसहर सडकखणड्को अवस्था, जलविद्युत्बाट स्थानीयले पाउने लाभ, पर्यटनमा पर्यटकको बसाइ अवधि, खेलकुद पूर्वाधार र रोजगारीका सवाल अब जिल्लाभित्रका बहस मात्र होइनन्। यी विषय राष्ट्रिय नीति र बजेटसँग जोडिने विषय हुन्।
आज लमजुङमा आएर यी प्रश्न उठाउँदा जिल्लामा चर्चा हुन्छ, नेताहरू जवाफ दिन बाध्य हुन्छन् र स्थानीयमा आशा पैदा हुन्छ। तर त्यही प्रश्न काठमाडौँबाट राष्ट्रिय सञ्चारमाध्यममा निरन्तर उठ्यो भने त्यसको प्रभाव फरक हुन सक्छ। एउटा जिल्लाको सडक, खेलमैदान वा पर्यटनको समस्या राष्ट्रिय प्राथमिकताको विषय बन्न सक्ने बाटो त्यहीँबाट खुल्छ।
त्यसैले बिहीबारको कार्यक्रमको मूल्यांकन केवल ‘राजेन्द्र बानियाँ लमजुङ आए, कार्यक्रम गरे र फर्किए’ भनेर गर्नु पर्याप्त हुँदैन। वास्तविक मूल्यांकन त अब हुनेछ, लमजुङमा उनले देखेका समस्या, सुनेका गुनासा र उठाएका प्रश्नलाई उनले आफ्नो सञ्चारमाध्यमबाट आगामी दिनमा कति प्राथमिकताका साथ उठाउँछन् ?
लमजुङेहरूले आज उनलाई दिएको सम्मान र विश्वासको वास्तविक कदर पनि त्यहीँबाट हुनेछ। जिल्लामा आएर लमजुङको समस्या बोल्नु एउटा पक्ष हो; लमजुङबाट बाहिरिएपछि पनि ती समस्या सम्झिएर राष्ट्रिय बहसमा उठाइरहनु अर्को र अझ महत्वपूर्ण पक्ष हो। अब लमजुङले बानियाँको आजको प्रश्न होइन, भोलिको पत्रकारिता हेर्नेछ।