पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
दक्षिण अमेरिकी देश पेरुको मध्य क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पपछि तत्काल मानवीय क्षति वा भौतिक संरचनामा ठूलो क्षति भएको विवरण प्राप्त भएको छैन।
यूएसजीएसका अनुसार भूकम्प ९९ किलोमिटर गहिराइमा गएको थियो। यसको केन्द्रबिन्दु एन्डिज पर्वत क्षेत्रमा पर्ने एन्सिओबाट करिब ३१ किलोमिटर उत्तरपश्चिममा रहेको थियो।
भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा त्रसित हुँदै घरबाहिर सडकमा निस्किएका थिए। पेरुको जियोफिजिकल इन्स्टिच्युट (आईजीपी) का प्रमुख हर्नान्डो ताभेराका अनुसार भूकम्प गहिराइमा गएकाले ठूलो क्षति हुनबाट जोगिएको हो।
स्थानीय रेडियो आरपीपीसँग कुरा गर्दै ताभेराले मानिसहरू डरका कारण सडकमा निस्किए पनि भूकम्पबाट उल्लेखनीय प्रभाव नपरेको बताएका छन्।
आईजीपीले सुरुमा भूकम्पको तीव्रता ७.२ म्याग्निच्युड रहेको जनाएको थियो। पछि यूएसजीएसले यसको तीव्रता ६.७ म्याग्निच्युड रहेको पुष्टि गरेको हो।
पेरु प्रशान्त महासागर वरपर फैलिएको भूकम्पीय क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा अवस्थित भएकाले यहाँ भूकम्पीय गतिविधि नियमित रूपमा हुने गर्छ। पेरु विश्वका प्रमुख तामा उत्पादक देशमध्ये एक हो।
भूकम्पपछि स्थानीय अधिकारीहरूले सम्भावित क्षति तथा थप जोखिमको अवस्थाबारे निगरानी जारी राखेका छन्।