पटनामा युवकको मृत्यु भएपछि हिंसात्मक प्रदर्शन, १० भन्दा बढी सवारीसाधनमा आगजनी
भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि शुक्रबार बिहान हिंसात्मक प्रदर्शन भएको छ।
अगमकुआँ थाना क्षेत्रको जीरो माइल नजिक तीव्र गतिमा आएको बसको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले आगजनी र तोडफोड गरेका हुन्।
प्रारम्भिक विवरणअनुसार दुर्घटनापछि प्रदर्शनकारीहरूले ठक्कर दिने बसमा आगजनी गरेका थिए। आगो निभाउन पुगेको दमकल टोलीलाई समेत भीडले अवरोध गरेपछि अवस्था थप तनावपूर्ण बनेको थियो।
प्रदर्शनका क्रममा प्रहरीका सवारीसाधन, बस, मोटरसाइकललगायत करिब १० वटा सवारीसाधनमा आगजनी गरिएको छ। सडक किनारमा पार्क गरिएका केही मोटरसाइकलसमेत जलाइएको छ भने जीरो माइलस्थित ट्राफिक प्रहरी चौकीमा पनि आगो लगाइएको प्रहरीले जनाएको छ।
आक्रोशित भीडले राष्ट्रिय राजमार्ग (एनएच–३०) अवरुद्ध गरेपछि दुवैतर्फ लामो सवारी जाम भएको थियो। घटनास्थलमा समाचार संकलन गर्न पुगेका केही पत्रकारमाथि समेत हातपात भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्थिति नियन्त्रणमा लिन ९ वटा प्रहरी कार्यालयबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको थियो। वरिष्ठ प्रहरी अधिकारीसहितको टोलीले भीड नियन्त्रणमा लिएपछि अवस्था सामान्यतर्फ फर्किएको प्रहरीले जनाएको छ।
पटना प्रहरीले दुर्घटना तथा त्यसपछिको हिंसात्मक घटनाबारे अनुसन्धान सुरु गरेको छ। आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचानका लागि घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन भइरहेको छ।
पटना प्रहरीका सहायक प्रहरी अधीक्षक (एएसपी) राजकिशोर सिंहका अनुसार सडक पार गर्ने क्रममा युवकलाई तीव्र गतिमा आएको सवारीसाधनले ठक्कर दिएको थियो।
उनका अनुसार घटनापछि उत्पन्न तनाव अहिले नियन्त्रणमा रहेको छ। आगजनी गरिएको बसमा दुर्घटनाका बेला यात्रु थिए वा थिएनन् भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।