पटना सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन, १० सवारीसाधनमा आगजनी
पटना । भारतको बिहार राज्यको राजधानी पटना सडक दुर्घटनापछि शुक्रबार बिहान हिंसात्मक प्रदर्शन भएको छ। अगमकुआँ थाना क्षेत्रको जीरो माइलमा तीव्र गतिमा आएको बसले ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले आगजनी र तोडफोड गरेका हुन्।
प्रदर्शनकारीले दुर्घटनामा संलग्न बससहित प्रहरीका सवारीसाधन, बस र मोटरसाइकल गरी करिब १० वटा सवारीसाधनमा आगजनी गरेका छन्। जीरो माइलस्थित ट्राफिक प्रहरी चौकीमा समेत आगो लगाइएको छ।
आक्रोशित भीडले एनएच–३० अवरुद्ध गरेपछि सडकमा लामो जाम भएको थियो। घटनास्थलमा पुगेका केही पत्रकारमाथि समेत हातपात भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्थिति नियन्त्रणमा लिन नौवटा प्रहरी कार्यालयबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचानका लागि सीसीटीभी फुटेज अध्ययन गरिरहेको जनाएको छ। दुर्घटनापछि आगजनी गरिएको बसमा यात्रु थिए वा थिएनन् भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।