गाजामा चिहानको चरम अभाव, युद्धका मृतकलाई अस्थायी स्थानमै गाड्न बाध्य
गाजा — इजरायली युद्धका कारण गाजामा हजारौँ शव अस्थायी स्थानमा गाडिएका छन्। नियमित चिहानस्थलसमेत भरिँदै गएपछि मृतकका परिवारलाई आफन्तको शव गाड्न नयाँ ठाउँ खोज्न कठिन हुन थालेको छ।
गाजा सिटीको जैतुन क्षेत्रमा बस्ने ४० वर्षीय मोहम्मद अल–सवही जुन १० मा सडकछेउको चिया–कफी पसलमा काम गरिरहेका बेला घाँटीमा गोली लागेर मारिएका थिए। उनका २० वर्षीय छोरा ओमर अल–सवहीले बुबाको शव गाड्न जैतुन चिहानस्थलमा ठाउँ खोजेका थिए।
तर चिहानस्थलमा ठाउँको चरम अभाव थियो। युद्धमा मारिएका मानिसका चिहान एकअर्कासँग निकै नजिक थिए। कतिपय चिहानमा मृतकको नाम लेखिएको कागज ढुंगाले थिचेर राखिएको थियो भने व्यवस्थित रूपमा चिहान बनाउनसमेत सम्भव थिएन।
‘म चिहानस्थलको बीचमा उभिएँ र चारैतिर धेरै चिहान देखेँ। बालुवाका थुप्रामुनि मानिसहरू गाडिएका थिए,’ ओमरले अल जजिरालाई बताएका छन्।
चिहान बनाउन लाग्ने खर्चसमेत परिवारका लागि ठूलो चुनौती बनेको छ। गाजाका अधिकारीहरूका अनुसार अहिले एउटा शव गाड्न आवश्यक संरचना तयार गर्न ७०० देखि १ हजार शेकेलसम्म खर्च लाग्ने गरेको छ। आर्थिक समस्या र ठाउँको अभावका कारण ओमरको परिवारले अन्ततः उनका बुबाको शव हजुरबुबाको चिहानमै गाडेको थियो।
युद्धका कारण गाजाको स्वास्थ्य सेवा तथा स्थानीय प्रशासनलगायतका प्रणाली पनि गम्भीर रूपमा प्रभावित छन्। हजारौँ मृत प्यालेस्टिनीलाई अझै ‘बेपत्ता’ को सूचीमा राखिएको बताइएको छ। युद्धका क्रममा धेरै शव घरका बगैँचा, विस्थापितका शिविर, विद्यालय तथा अस्पताल परिसरमा अस्थायी रूपमा गाडिएका थिए।
युद्धविरामपछि केही परिवारले भग्नावशेष तथा अस्थायी चिहानबाट आफन्तका शव निकालेर पुनः नियमित चिहानस्थलमा सार्न थालेका छन्। गाजाका अधिकारीहरूका अनुसार अस्पताल परिसरमा रहेका सात सामूहिक चिहानबाट मात्रै ५२९ जनाका शव निकालिएका छन्।
चिहानको समस्या युद्धमा मारिएका मानिसको संख्या बढेकाले मात्र होइन, इजरायली आक्रमणबाट पुराना चिहानस्थलसमेत ध्वस्त भएका कारण पनि गम्भीर बनेको छ।
गाजाको धार्मिक मामिला तथा वक्फ मन्त्रालयका अनुसार युद्ध सुरु भएयता ४० भन्दा बढी चिहानस्थल नष्ट भएका छन्। इजरायली सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा चिहानस्थलमा पहुँचसमेत सीमित रहेको बताइएको छ।
विस्थापनका कारण पहिले चिहानका लागि छुट्याइएका कतिपय ठाउँसमेत आश्रयस्थलमा परिणत भएका छन्। आवश्यक ढुंगा तथा अन्य सामग्रीको अभावमा ध्वस्त भवनका इँटा–ढुंगा, माटो वा जस्तापातालाई अस्थायी चिहान चिन्हका रूपमा प्रयोग गर्ने गरिएको छ।
वक्फ मन्त्रालयका सञ्चार अधिकारी इक्रामी अल–मदल्लालका अनुसार गाजाका करिब ६० चिहानस्थलमध्ये अधिकांश युद्ध सुरु हुनुअघि नै क्षमताको सीमामा पुगिसकेका थिए। नयाँ चिहानस्थलका लागि ठाउँ खोज्नुका साथै अस्थायी रूपमा गाडिएका शवलाई व्यवस्थित चिहानमा सार्नु पनि चुनौतीपूर्ण बनेको उनले बताए।
खान युनिस चिहानस्थलमा १९ वर्षभन्दा बढी समयदेखि शव गाड्दै आएका ५० वर्षीय तफेश अबु हाताबका अनुसार युद्धअघि त्यहाँ करिब ६० वटा चिहान थिए। अहिले त्यहाँ करिब ६ हजार चिहान पुगेका छन्।
युद्धको एक चरणमा उनले दैनिक करिब ३५ वटा चिहान खन्नुपरेको बताए। उनका अनुसार गाडिने अधिकांश शव महिला र बालबालिकाका हुने गरेका छन्, जसमा नवजात शिशुसमेत छन्।
‘यति भयावह रक्तपात भएको समय हामीले कहिल्यै देखेका थिएनौँ,’ तफेशले भने, ‘दर्जनौँ सहिदलाई गाड्न नपरेको दिन नै हुँदैन।’
गाजामा चिहानको अभाव अहिले युद्धले निम्त्याएको मानवीय संकटको अर्को गम्भीर पक्ष बनेको छ। शवको अन्तिम संस्कारका लागि आवश्यक ठाउँ, सामग्री र स्रोतको अभावसँगै परिवारहरूले आफन्तको शवलाई सम्मानपूर्वक गाड्नसमेत संघर्ष गरिरहेका छन्।