अमेरिका–इरान युद्धपछि भारतले बढायो रूसी तेलको आयात
काठमाडौं — अमेरिका–इरान युद्धका कारण खाडी क्षेत्रबाट तेल आपूर्ति प्रभावित भएपछि भारतले रूसी तेलको आयात हालसम्मकै उच्च स्तरमा पुर्याएको छ।
फाइनान्सियल टाइम्सका अनुसार व्यापार परामर्शदाता कम्पनी केप्लरका प्रमुख विश्लेषक सुमित रितोलियाका अनुसार भारतले जुन र जुलाईमा प्रतिदिन २६ लाख ब्यारेलभन्दा बढी रूसी कच्चा तेल आयात गरेको थियो। यो फेब्रुअरीमा रहेको प्रतिदिन करिब १० लाख ब्यारेलको आयातभन्दा उल्लेख्य रूपमा बढी हो।
रूसी तेलले भारतको कुल कच्चा तेल आयातको आधाभन्दा बढी हिस्सा ओगटेको छ। केप्लरको तथ्यांकअनुसार भारतले अहिले समग्रमा प्रतिदिन करिब ५० लाख ब्यारेल कच्चा तेल आयात गरिरहेको छ। यो अमेरिका र इजरायलले इरानमाथि बमबारी सुरु गरेयताकै उच्च आयात स्तर हो।
खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण तेल आपूर्ति प्रभावित भएपछि भारतलाई रूसमाथिको निर्भरता घटाउन थप कठिन भएको हो। इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि खाडी क्षेत्रबाट भारतमा हुने तेल आयातमा कमी आएको बताइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद गरेको भन्दै सन् २०२५ जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत अतिरिक्त भन्सार लगाउने घोषणा गरेका थिए। त्यसपछि भारतले रूसी तेलको आयात क्रमशः घटाउँदै लगेको थियो।
तर अमेरिका–इरान युद्ध सुरु भएपछि परिस्थितिमा परिवर्तन आएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अत्यधिक बढ्न नदिन अमेरिकाले रूसी तेलको आयातप्रति केही लचकता अपनाएपछि पनि भारतमा रूसी तेलको आयात बढेको बताइएको छ।
भारत आफ्नो कच्चा तेल र ग्यासको आवश्यकताको ९० प्रतिशतभन्दा बढीका लागि आयातमा निर्भर छ। खाडी क्षेत्रमा लामो समयदेखि जारी द्वन्द्वले भारतको ऊर्जा सुरक्षामा रहेको आयात निर्भरता र आपूर्ति जोखिमलाई थप उजागर गरेको छ।
विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको भारतका लागि ऊर्जा आपूर्ति सुनिश्चित गर्नु चुनौतीपूर्ण बन्दै गएको अवस्थामा रूसी तेलको बढ्दो आयातले तत्कालका लागि आपूर्ति व्यवस्थापनमा सहयोग पुर्याएको देखिन्छ।