२९ देशद्वारा विश्व एआई सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
काठमाडौं । विश्वका २९ वटा देशले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ‘वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेशन अर्गनाइजेसन’ एक स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हुनेछ। यसको मुख्यालय चीनको साङ्घाईमा रहने जनाइएको छ।
चीनमा आयोजित सन् २०२६ को विश्व एआई सम्मेलन तथा ‘ग्लोबल एआई गभर्नेन्स’ सम्बन्धी उच्चस्तरीय बैठकका अवसरमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
चिनियाँ विदेशमन्त्री वाङ यीका अनुसार चीन सरकारको तर्फबाट कजाकिस्तान, लाओस, पाकिस्तान, रूस र इन्डोनेसियासहित २९ देशका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्दै सङ्गठनको संस्थापक सदस्यता लिएका छन्।
हस्ताक्षर समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्झौताअनुसार नयाँ सङ्गठनले संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्यलाई समर्थन गर्दै सार्वजनिक हितका लागि परामर्श, सहकार्य र संयुक्त योगदानलाई प्रवर्द्धन गर्नेछ।
सङ्गठनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय सहयोग र एआईसम्बन्धी विश्वव्यापी शासन प्रणालीलाई सुदृढ बनाउँदै कृत्रिम बुद्धिमत्तालाई सुरक्षित, निष्पक्ष र मानव हितमा प्रयोग हुने प्रविधिका रूपमा विकास गर्नु रहेको जनाइएको छ।