जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु, दुई घाइते
जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। स्थानीय छोटा खर्क पाटनस्थित एनसेल टावर नजिक भेडा गोठालो गएका बेला उनी चट्याङको चपेटामा परेका थिए।
उक्त घटनामा सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चट्याङका कारण केही भेडाबाख्रा पनि मरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि, कति संख्यामा पशुचौपाया मरेका हुन् भन्ने यकिन भइनसकेकाले विवरण सङ्कलन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, चन्दननाथ नगरपालिका–१० स्थित बोहरागाउँको सिद्धि गणेश सामुदायिक वन क्षेत्रमा बुधबार परेको चट्याङका कारण १२ वटा खसी र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।