युगान्डामा स्कुल बस दुर्घटना, २० विद्यार्थी सहित २१ जनाको मृत्यु
काठमाडौं । पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य धेरै घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ।
युगान्डाको ट्राफिक तथा सडक सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल कानानुराले विज्ञप्ति जारी गर्दै राजधानी कम्पालास्थित किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस कप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा दुर्घटना भएको जानकारी दिए।
प्रहरीका अनुसार विद्यार्थीहरू कप्चोर्वाको सिपी फल्समा शैक्षिक भ्रमण सकेर फर्कने क्रममा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार चालकले बस नियन्त्रण गुमाएपछि गाडी सडकबाट चिप्लिएर सडक किनारमा रहेको ठूलो ढुङ्गामा ठोक्किएको थियो।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।