अमेरिकी सैन्य आक्रमणको इरानद्वारा निन्दा, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनको आरोप
काठमाडौं — इरानले संयुक्त राज्य अमेरिकाले गरेको भनिएको पछिल्लो सैन्य आक्रमणको कडा निन्दा गर्दै त्यसलाई संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको आरोप लगाएको छ।
इरानका स्थायी प्रतिनिधि अमिर सइद इरवानीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र जुलाई महिनाका लागि सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा अमेरिकाले दक्षिणी इरानस्थित प्रतिष्ठानहरूमा ठूलो मात्रामा सैन्य आक्रमण गरेको दाबी गरेका छन्।
इरवानीले अमेरिकाका निरन्तर सैन्य कारबाहीहरू संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा २(४) तथा अन्तर्राष्ट्रिय कानुनी दायित्वविपरीत रहेको बताएका छन्।
उनले नागरिक संरचनालाई लक्षित गरिएको दाबी गर्दै इरानविरुद्ध बल प्रयोगले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरेका छन्।
पत्रमार्फत इरानले अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको अवहेलना गरेको आरोप लगाउँदै सैन्य बल प्रयोगबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताएको छ।
यस विषयमा अमेरिकाले भने तत्काल प्रतिक्रिया सार्वजनिक गरेको छैन।