रुपन्देहीमा नक्कली नोट बनाउने एक भारतीयसहित ६ जना पक्राउ
रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न एक भारतीय सहित ६ जनालाई पक्राउ गरेको छ ।उनीहरूको साथबाट एक हजार दरका नक्कली नेपाली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद गरिएको छ ।
गिरोहले नेपाली युवाहरूलाई प्रयोग गर्दै आफ्नो सञ्जाल विस्तार गरेको खुलेको घटनाका मुख्य योजनाकार अर्का एक भारतीय नागरिक खोजी भइरहेको छ ।
बुटवल उपमहानगरपालिका-६, नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका-१ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका-१ का संजय थारु, भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका-४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडीस्थित भक्तिनगर थाना निवासी ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।
उनीहरुको साथै फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न रसायन, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका सबैविरुद्ध मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले नक्कली पैसा छाप्ने कलर मेसिन र नगदसहित बुटवलको नेपालगन्ज रोडको एक पसलबाट बरामद गरेको बताए ।
प्रहरीका अनुसार घर तथा कोठाको खानतलासीका क्रममा एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नेपाली नोट बरामद भएका छन्। बरामद गरिएका नोटको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।